निर्वाचन आचारसंहितामा एमालेको असन्तुष्टि

निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको स्थानीय निर्वाचन केन्द्रीत आचारसंहितामा नेकपा एमालेले असन्तुष्टि जनाएको छ । आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुअघि पदमा रहेकाहरूले राजीनामा दिनुपर्ने उल्लेख गरिएकामा त्यसप्रति एमालेले असन्तुष्टि पोखेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने भन्दै स्थानीय तहका पालिका अध्यक्ष वा मेयरले पनि पद खाली गर्न नहुने तर्क गरे । पालिका अध्यक्ष वा मेयरले पदबाट राजीनामा दिएर चुनावमा होमिँदा काम नै रोकिने हुँदा त्यसो गर्नु जायज नभएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधानमन्त्री’पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?’
बिहीवार प्रकाशित निर्वाचन आचार संहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ ।’
निर्वाचन आयोगले तोकेको मितिबाट यो आचार संहिता लागू हुनेछ । आयोगले कहिलेबाट आचारसंहिता लागू गराउने भन्ने टुंगो लगाइसकेको छैन् ।

आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था आचार संहितामा गरिएको छ ।
००००
लोकान्तर राउण्ड अपमा अन्य समाचारः
बिहीबार पहाडी र हिमाली जिल्लामा धुमधामका साथ होलि मनाइएको छ । तराईका जिल्लामा शुक्रबार होली मनाइँदैछ । यसैबीच ट्राफिक प्रहरी महाशाखाले बिहीबार फागु पूर्णिमालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा १ हजार ३०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको जनाएको छ ।
दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले रंगहरूको पर्वमा सबै जना फेस्टिभ मूडमा हुने, होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर बिहानैदेखि चेक प्वाइन्ट राखी चेकिङलाई कडा पारिएको बताए ।

उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए ।

‘बिहानदेखि साँझ ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ,’ एसएसपी जोशीले भने, ‘बिना हेल्मेट, ३ जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही र होल्ड गरिएको छ ।’
००००
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् ।
अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपंक्तिमा बसेर लड्न समेत तयार रहेको बताए ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका जीतपुरमा १२औं कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे ।
००००
नेकपा एकीकृत समाजवादी (एस)पार्टीले १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीवार बसेको एसको केन्द्रीय सचिवालय बैठकले जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियानका लागि ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ नारा तय गरिएको छ ।
००००
बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।
मुद्दामा शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै दफा ३ को (ग) अनुसार सजाय माग भएको छ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई खिसिट्युरी गर्नेहरूको हरिबिजोक स्थानीय चुनावमा देखिने बताएका छन् ।
एकीकृत समाजवादीले आयोजना गरेको फागु पूर्णिमा विशेष कार्यक्रमलाई विहीवार सम्बोधन गर्दै नेपालले होलिका दहन भएजस्तै त्यस्ताहरूको नाश हुने बताएका हुन् ।
‘स्थानीय तहको निर्वाचनमा हाम्रो सामथ्र्य देखिनेछ । हाम्रो खिसिट्यरी गर्ने तत्वहरूको हरिबिजोक त्यही बेलामा थाहा हुनेछ । घमण्डको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरूको नाश र दहन होस्,’ नेपालले भने ।
००००
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको हो ।
बालुवाटारमा भएको भेटमा आसन्न स्थानीय तह निर्वाचन तथा सत्ता गठबन्धनबीचको सम्भावित तालमेलका विषयमा कुराकानी भएको बताइएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पनि ३ नेताबीच भेटवार्ता भएको जानकारी दिएका छन् ।
००००
नेकपा एमाले धनुषाको अध्यक्षमा राजकिशोर यादव चयन भएका छन् ।
जनकपुरधाममा बुधवार राति सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्मतरूपमा पुनः उनकै अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्न समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रेस संगठन लुम्बिनीद्वारा बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे ।
००००
पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार ४ हजार ७४७ जनामा परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना निको भएर २२० संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ रहेको छ ।

प्रतिक्रिया