गठबन्धनबाट आश गरेर हामी जितौँला र खाउँला भन्ने कुरा दिमागबाट हटाइदिऔं-प्रचन्ड

हामीले धेरै पटक पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने भनेर भनिराख्यौँ, विचारलाई पनि क्रान्तिकारी ढंगले विकास गर्ने हो भनिराख्यौँ । धेरै समयदेखि हामीले समाजवादको आधार निर्माण गर्ने कुरा पनि गरिराख्यौँ । तर व्यवहारमा क्रान्तिकारी विचारको विकासमा उल्लेख्य प्रगतिको महसुस हामी कसैले गरेनौं । क्रान्तिकारी पार्टी निर्माणमा रुपान्तरणको प्रक्रिया सुरु भएको भन्ने हामी कसैले खासै महसुस गरेनौं । कुरा गरिन्छ तर उपदेशजस्तो । कुराका लागि कुरा गरेजस्तो ।

हाम्रो संगठनको स्थिति, नेता तथा कार्यकर्ताको वैचारिक स्तर हेर्दा, हाम्रो आचरण हेर्दा दिन प्रतिदिन कम्युनिस्ट आचरणबाट स्खलननतिर बढिरहेको जस्तो, विचलन जस्तो । पार्टीभित्र वैचारिक/राजनीतिक अस्पष्टता, गुटबन्दी, व्यक्तिवाद, अराजकता बढ्दो छ । सबै पदलोलुप भएजस्तो छ ।

यही पार्टी हो हिजो क्रान्तिको समयमा, युद्धको बेलामा मर्न जान जिम्मा पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो । हामीले कुरा क्रान्तिका गरिराखेकै छौं, पार्टीलाई क्रान्तिकारी बनाउने कुरा पनि गरिराखेकै छौं । तर हामीमा विस्तारै बर्जुवाकरण भइरहेको छ, व्यक्तिवादीकरण भइरहेको छ । गुटबन्दी, अराजकता बढिरहेको छ । कहाँबाट चिर्ने हो भन्ने ठुलो समस्या छ ।

एउटा पार्टी क्रान्तिकारी हुन्छ कि हुँदैन भनेर हामी आफैले छुट्याउने कसी भनेको उसले आफ्ना कमजोरीलाई कसरी हेर्छ भन्ने नै हो । आफ्ना कमजोरीलाई ढाकछोप गर्छ भने त्यो पेटी बुर्जुवा र बुर्जुवा हुनबाट कसैले रोक्न सक्दैन । आफ्ना कमजोरीप्रति निर्ममतापूर्वक आत्मसमीक्षा गर्न सक्छ भने त्यो क्रान्तिकारी पार्टीको लक्षण र विचार हो । हामी क्रान्तिकारी हौं भने आफ्नो कमजोरी पत्ता लगाएर त्यो कमजोरी हटाउन गम्भीर हुन्छौं । हामी क्रान्तिकारी होइनौं भने अर्कोतिर औँला देखाउने गर्छौं जो अहिले देखिएको छ ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजमा शान्ति प्रक्रियादेखि आजसम्म कहाँ त्रुटि भए भन्ने आत्मसमीक्षा गरिएको छ । हामी सबैले आ–आफ्नो आत्मसमीक्षा गर्न सुरु गरियोस् । महाधिवेशनमा पारित दस्तावेजको आत्मसमीक्षावाला पक्ष मैले साँच्चै पार्टीका निम्ति, क्रान्तिका निम्ति, कम्युनिस्ट आचरणको विकासका निम्ति कहाँ त्रुटि गरेँ, कहाँ गरेको छैन भन्नेतिर सबैको ध्यान जाओस् भन्ने कारणले सिङ्गै पार्टीको रुपान्तरणका लागि अनिवार्य पक्षका रुपमा प्रस्तुत गरिएको छ ।

यो पार्टीलाई क्रान्तिकारी बनाउन अन्ततः उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग बिना त फेरि जनतासँग जोडिन सक्दैन । त्यसकारण हाम्रो दस्तावेजले तत्कालीन नीति, कार्यक्रम र कार्ययोजनाको रुपमा जनतातिर फर्कने, उत्पादन, श्रम र सांस्कृतिक रुपान्तरणको एउटा संयोजित कार्यक्रम बनाउने र तलैदेखि समाजवादको माओवादी मोडेल प्रस्तुत गरेको छ । तलैदेखि त्यस्ता योजना कार्यान्वयनबाट समाजवादको आर्थिक, राजनीतिक र सांस्कृतिक मोडेल नेपालले दिन सक्छ भन्ने उद्देश्यका साथ दस्तावेजमा उल्लेख छ ।

अब समाजवादी क्रान्तिका लागि नयाँ पार्टी, नयाँ विचार विकासको ऐतिहासिक पहलकदमी आठौं महाधिवेशनबाट गरेका छौं । एउटा ट्रयाक खोल्यौँ, चुनावपछि विशेष महाधिवेशन गर्ने र विचार संश्लेषणलाई नयाँ उचाइमा उठाउने जग बसायौं । समाजवाद निर्माणको वैचारिक राजनीतिक जगको भूमिका यसले खेल्न सक्छ । एउटा नयाँ विचार संश्लेषण गर्न सकिन्छ भनेर हामीले त्यसलाई टुङ्ग्याएका छौं ।

यो पार्टीमात्र त्यस्तो पार्टी हो जो क्रान्तिकारी पार्टीमा रुपान्तरण हुन सम्भव छ । हामीले प्रतिगमनकारी आन्दोलनमा संघर्षमा जान, प्रतिक्रान्तिविरुद्ध लड्नका लागि यो पार्टीमात्र जुनसूकै बेला तयार रहन सक्छ भन्ने पुष्टि गरेर देखाइसकेको कुरा हो ।

प्रतिक्रिया