चुनाव प्रचारसम्बन्धी के छ व्यवस्था ?

काठमाडौं : निर्वाचन आयोगले रातको समयमा चुनाव प्रचार गर्न नपाइने नियम बनाएको छ। बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी कार्यक्रम सञ्चालन गर्न पाइने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ।

राजपत्रमा बिहीबार प्रकाशित आचारसंहिता केही दिनमै लागू हुने आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘जुलुस, आमसभा, भेला वा प्रचार–प्रसारका काम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्ने,’ आचारसंहितामा लेखिएको छ।
स्थानीय प्रशासनको अनुमति लिएर मात्र राजनीतिक दल र तिनका भ्रातृसंगठनले सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा बैठक गर्न पाउने भएका छन्। राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टोपी, गम्छा, टिसर्ट, कमिज, माक्स लकेट उत्पादन र प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ। घरधनीको स्वीकृति नलिई कसैको घरमा पनि राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न नपाइने आयोगको नियम छ।

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, दलहरुले के के गर्न पाउँदैनन् ?
आयोगले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुने आचारसंहिता बनाएको छ। सामाजिक सञ्जालमा गलत, भ्रामक, वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नपाइने जनाइएको छ। निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले झुटा साइट बनाउन नपाइने आयोगले स्पष्ट पारेको छ। निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिकाटिप्पणी गर्न नहुने आचारसंहितामा उल्लेख छ।

उम्मेदवार मनोनयनको समयदेखि राजनीतिक दल वा उम्मेदवारको मत सर्वेक्षण गर्न वा प्रकाशन गर्न नपाइने आचारसंहिता आयोगले सञ्चारमाध्यमका लागि बनाएको छ। निर्वाचन प्रचारमा १८ वर्षमुनिका बालबालिका प्रयोग गर्न पाइने छैन।
आयोगले चुनावमा हेलिकप्टर प्रयोग गर्न दिने भनेको छ। ‘राजनीतिक दलले प्रचार–प्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने,’ आचारसंहितामा लेखिएको छ।

खर्चको विवरण पेस गर्नुपर्ने

उम्मेदवारले बैंकमार्फत मात्रै रकम खर्च गर्नुपर्ने, २५ हजार बढी आर्थिक आर्थिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत लिनुपर्ने र खर्चको विवरण पेस गर्नुपर्ने आचारसंहितामा छ। स्थानीय तहका बहालवाला पदाधिकारीहरू आगामी चुनावमा उम्मेदवार बन्ने भए मनोनयन गर्नु अघि पदबाट राजीनामा दिनुपर्ने आयोगले नियम बनाएको छ।

प्रतिक्रिया