रिया साइन्स फेयर सुरु

काठमाडौँको चाबहिल, सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी (रिया) को आयोजनामा ‘रिया साइन्स फेयर–२०२२’ सुरु भएको छ । बिहीबार रिया प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै साइन्स फेयरको उद्घाटन गरियो ।

रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष एवं प्रिन्सिपल रविन्द्र जंग थापाले कार्यक्रमको सभापतिको भूमिका निर्वाह गरेका थिए । यस्तै राष्ट्रिय आविष्कार केन्द्रका सिनियर इन्जिनियर रितेश देवलाई प्रमुख अतिथिका लागि निमन्त्रणा गरिएको थियो । कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कमा आबद्ध बोर्ड अफ डाइरेक्टर, स्कूलका प्रिन्सिपल, व्यवस्थापन टिम, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि देव र सभापति थापाले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले साइन्स फेयरले विद्यार्थीहरूले सिकेको ज्ञानलाई व्यवहारिक रूपमा प्रस्तुत गर्न जोड दिने बताएका थिए । सहायक प्रिन्सिपल नन्दु कुसुवाह, सिनियर चार्टर्ड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवले विद्यार्थीहरूलाई आविष्कार केन्द्रले गर्ने गतिविधिको बारेमा जानकारी दिएका थिए । कुनै नयाँ कुराको आइडिया भयो भने हामी सहयोग गर्छौ । त्यसका लागि प्रस्ताव सहित कार्यालय आउनु सक्नु हुनेछ । हामी सहयोग गर्न तयार छौँ, देवले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष एवं प्रिन्सिपल थापाले भने, एजुकेसन फेयर २ दिनसम्म चल्नेछ । लगभग २५ वटा साइन्स स्टल रहेका छन् । विद्यार्थीले सिकेका कुरालाई प्रयोगात्मक रूपमा देखाउने प्रयास गरेका छौँ । एक हप्ता लामो तयारीमा विद्यार्थीले प्रदर्शन स्टल तयार गरेका छन् । यस खालको लगनशीलताको उच्च प्रशंसा गर्दछु । शिक्षा भनेको किताब पढ्ने, परीक्षामा पास हुने मात्र नभई व्यवहारमा कत्ति देखाउन सक्छौँ भन्ने कुरा हो ।

शिक्षा व्यवहारिक हुनु पर्दछ । यसबाट समाजले सकारात्मक परिवर्तन आउनु पर्छ भन्ने हो । जसका लागि क्रियाकलापमा आधारित शिक्षा हुन जरुरी छ । सोही क्रियाकलापमा आधारित शिक्षामा विद्यार्थीहरूलाई सामेल गराउनका निम्ति रिया साइन्स फेयरको आयोजना गरिएको हो, थापाले भने ।

औपचारिक कार्यक्रम मध्यान्ह १२ बजेदेखि दिउसो १ः३० बजेसम्म चलेको थियो । समापन कार्यक्रम शुक्रवार दिउसो गरिने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार