अर्थमन्त्रीलाई योगेशको प्रश्न : कमिशन नआउने भएर शिक्षा-स्वास्थ्यको बजेट काटेको हो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मामाथि कमिशन नआउने भएकैले शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले कमिशन नआउने भएकैले शिक्षा र स्वास्थ्यको बजेट कटौती गरेको भन्दै शर्मालाई प्रश्न गरे ।

अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडिओ टिकटकमा भाइरल भएको बताए ।

‘अहिले टिकटकमा अर्थमन्त्रीज्यूको एउटा भिडिओ आइरहेको छ । सायद उहाँले पनि हेर्नु भयो होला। त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिइरहनु भएको थियो। त्यो मैले हिजो मात्रै टिकटकमा हेरे। शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ । शिक्षाको बजेटमा त २० प्रतिशत हुनु पर्थ्यौँ, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपर्थ्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन् भने अर्थमन्त्रीहरू त्यहाँ कमिशन आउँदैन’ उनले भने, ‘आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नु भएको छैन । २० प्रतिशतको कुरै छोडौं। १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ। अब म अर्थमन्त्रीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौति गर्नु भएको हो त रु मेरो गम्भिर प्रश्न यहाँलाई त्यहाँनेर छ।’ पूर्वमन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै खालको हित गर्न नसक्ने दावी गरे । यो बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरूको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको उनको भनाई छ ।

 

प्रतिक्रिया