स्कुल खुलेको एक महिना भइसक्यो, विद्यार्थीले अझै पाएनन् नयाँ किताब !

काठठमाडौं ।  मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन् ।मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् ।

विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीलाई पढ्नै मुस्किल परिरहेको छ । कोरोनाले गर्दा ३ वर्षसम्म राम्रोसँग पढ्न नपाएका विद्यार्थी अहिले पढ्ने आशा बोकेर विद्यालय जान थाले पनि पुस्तक नहुँदा पठनपाठन प्रभावित भएको महाकाली माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत दुर्गादेवी शाहीले बताइन ।

जेठ २ गतेबाट शैक्षिक सत्र सुरु भई पठनपाठन सुरु भएको थियो । नयाँ पाठ्यपुस्तक नआउँदा विद्यार्थीको पठनपाठन प्रभावित हुन थालेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायको भनाई छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नुपर्ने नियम भए पनि निर्वाचनले गर्दा असर परेको शिक्षा विकास समन्वय इकाइले जनाएको छ । इकाइ प्रमुख सूर्य खत्रीका अनुसार स्थानीय निर्वाचनले गर्दा मुगुमा पाठ्यपुस्तक ढुवानीमा समस्या भएको हो ।

छायानाथरारा नगरपालिकाभित्रका विद्यालयका लागि जयलक्ष्मी पुस्तक भण्डारले ढुवानीको जिम्मा लिएको छ । मुगुमकार्मारोङ गाउँपालिकाअन्तर्गतका विद्यालयको निम्ति यूके जनरल स्टोरले सम्झौता गरेको छ । चुनावले गर्दा समयमै नयाँ पुस्तक ढुवानी गर्न नसकेको जयलक्ष्मी पुस्तक भण्डारका प्रोप्राइटर जयलक्ष्मी भामले जनाए । उनले अबको एक हप्ताभित्र पुस्तक जिल्लामा पुग्ने बताएका छन् ।

सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाको बामेस्थित मुक्ति माध्यमिक विद्यालयमा पढ्दै आएका १५ वर्षीय उमेश बुढाथोकी जेठ ८ गते कक्षा ९ मा भर्ना भए । तर उनले अहिलेसम्म किताब पाएका छैनन् । यस्तै, कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका १५ वर्षीय दीपक रावत पनि एक साताअघि नै त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भए । भर्ना भएदेखि नयाँ पुस्तक पाउने आशामा उनी दैनिकजसो विद्यालय धाउने गर्छन् । तर उनले अहिलेसम्म पुस्तक पाउन सकेका छैनन् ।

केही वर्षअघिदेखि विद्यार्थी भर्ना गर्नेबित्तिकै सरकारले उनीहरूको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । तर जिल्लामा विद्यालय सञ्चालन भएको दुई साताभन्दा बढी भइसकेको छ । तर सल्यानका १० स्थानीय तहमा ४ सय ४३ सामुदायिक विद्यालयका ३३ हजार १ सय ४५ विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् ।

पाठ्यपुस्तक नपाउँदा विद्यार्थी विद्यालय जाने र हाजिर भएर मात्र फर्किने गरेका छन् । सरकारले भर्ना हुनेबित्तिकै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने भने पनि जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक प्रकाशन गर्न नसकेको भन्दै बिक्रेताले ल्याउन आनाकानी गरिरहेका छन् । विद्यालयमा पुस्तक नपाएपछि पढाइ नभएकै कारण खेतीपातीको सिजन सुरु भएकाले खेतबारी जोत्नमा लागेको सिद्धकुमाख गाउँपालिका–५ दलका नवीन रोकाको भनाई छ । बन्गाडकुपिण्डे नगरपालिका–७ को कृष्ण माध्यमिक विद्यालय संग्रहीमा कक्षा ८ मा भर्ना भएका उनले पुस्तकको अभावकै कारण केही दिनपछि मात्र विद्यालय सञ्चालनमा आउने खबर पाएपछि खेतीपातीमा लागेको बताए ।

मुक्ति मावि बामेका प्रधानाध्यापक नोखिराम बीएमले पाठ्यपुस्तक नआएकाले विद्यालयमा पठनपाठन हुन नसकेको बताए । पाठ्यपुस्तकका लागि बिक्रेतालाई ताकेता गरेको र आउनेबित्तिकै सञ्चालनमा आउने उनको दाबी छ । त्रिभुवन मावि च्युराका प्रधानाध्यापक गुमानसिंह विष्टले अहिलेसम्म विद्यालयका ३० प्रतिशतले मात्र पुस्तक पाएको बताए । पुस्तक कम आए पनि आंशिक रूपमा पठनपाठन भने सुरु गरेको उनको भनाइ छ । शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले नगरभित्रका ५८ सामुदायिक विद्यालयमध्ये ४० वटामा पुस्तक पुगिसकेको र अन्यका लागि आउने तयारी भइरहेको बताएकी छन् ।

कुमाख गाउँपालिकाका शिक्षा प्रमुख दीपक चन्दले चैत्रमै पुस्तकका लागि विद्यालयलाई भुक्तानी दिए पनि अहिलेसम्म पुस्तक आउन नसक्नु विद्यालयको पनि कमजोरी रहेको बताए । उनका अनुसार पालिकाभित्र ४८ सामुदायिक विद्यालयमा ६ हजार ७ सय विद्यार्थी भर्ना भए पनि २ हजार ५ सय विद्यार्थीले अझै किताब पाउन नसकेको बताए ।

पाठ्यपुस्तक बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष डम्मर केसीले अहिलेसम्म १ करोड २० लाख रुपैयाँको ३८ हजार ८ सय ५५ थान पुस्तक जिल्लामा भित्रिएको जानकारी दिए । भित्रिएकामध्ये सबै पुस्तक विद्यालयमा पुग्न सकेको छैन । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीले निर्वाचनका कारण जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्न ढिलाइ गरेकाले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन नसकेको बताए ।

‘किताब नै छैन कसरी पढ्नु ?’

टिकापुरमा कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । ‘किताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन’, विकले भने, ‘किताब नै नभए कसरी पढ्नु ? विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका साथीहरु पनि समयअगावै घर फर्कन्छन् ।’

टीकापुरका सुरेश चौधरी कक्षा ९ मा पढ्छन् । उनले पनि अझै पाठ्यपुस्तक हातमा पाएका छैनन् । पाठ्यपुस्तक नभएर उहाँले पनि पढ्न पाएका छैनन । ‘स्थानीय तह निर्वाचनलगत्तै जेठ महिनाबाट विद्यालयमा पढाइ सुरु भयो । पढाइ सुरु भएको २० दिनसम्म पनि हामीले पाठ्यपुस्तक पाएका छैनौँ’, चौधरीले भने, ‘यसले त पछिल्ला कक्षामा पनि असर पार्छ । समयमै पढ्न नपाए कोर्स पूरा हुँदैन । अनि हामीलाई घाटा लाग्छ ।’

विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा शिक्षक के, कसरी शिक्षण गर्ने भन्ने कुरामा अन्यौलमा छन् । शिक्षकमा ढिलो गरी पाठ्यपुस्तक आए कोर्ष पछाडि धकेलिन्छ कि भन्ने चिन्ता बढेको पशुपतिनाथ आधारभूत विद्यालयका शिक्षिका शान्ति बुढाले बताए । ‘कोर्स पछाडि धकेलिने देखिएको छ । अन्य कक्षामा धमाधम पढाइ भइरहेको छ’, शिक्षक बुढा भन्छन्, ‘समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सबैले पहल गरिदिनुपर्छ । बालबालिकाको समयमै पढ्न पाउने अधिकार सुरक्षित हुनुपर्छ ।’

पाठ्यपुस्तक नहुँदा पनि विद्यार्थीलाई व्यस्त राख्न केही न केही क्रियाकलाप गर्न जरुरी छ । हातमा पाठ्यपुस्तक नहँुदा उनीहरुलाई व्यस्त राख्न शिक्षकले पाठ्यक्रमका आधारमा उनीहरुलाई अन्य सन्दर्भ पुस्तक शिक्षण गरिरहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारी बताउँछन् । ‘विद्यार्थीको पढाइलाई सहयोगी हुने खालका अन्य क्रियाकलापमा व्यस्त राख्ने, अन्य किताब अध्ययनमा सघाउने काम गरिरहेका छौँ’’, प्रधानाध्यापक भण्डारीले भने, ‘जसले उनीहरुको अध्ययनमा बाधा नपुगोस्, पढाइमा रुचि लागि रहोस् भन्ने उद्देश्य हो ।’

कोर्स नै परिवर्तन भई विविध कारणले पुस्तक छपाइमा ढिलो भएकाले समयमै पुस्तक नपुगेको बताइएको छ । टीकापुर नगरपालिका शिक्षा शाखाले विद्यालयमा पठाइएका स्वअध्ययन सामग्री प्रयोग गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘विद्यालयमा उपलब्ध पाठ्यक्रमअनुसार शिक्षण गर्न सकिन्छ । विद्यालयमा भएका अन्य पुस्तक पढ्न लगाएर पनि विद्यार्थीलाई सिर्जनशील बनाउन सकिन्छ ।’

‘हामीले हरेक विद्यालयमा स्वअध्ययन सामग्री उपलब्ध गराएका छौँ । यस्तो समयमा ती सामग्री प्रयोग गरेर विद्यार्थीलाई व्यस्त राखौँ’, शिक्षा अधिकृत अवस्थी भन्छन्, ‘अझै पुस्तक कहिले पुग्छ भन्ने यकिन छैन । त्यसैले अभिभावकले पनि घरमा बालबालिकालाई पुराना किताव भए पनि पढ्न लगाउनुपर्छ ।’ पाठ्यपुस्तक उपलब्ध नभए पनि पाठ्यक्रम र अन्य सहयोगी सामग्रीको आधारमा कक्षामा पठनपाठन गर्न अभिभावकको समेत सुझाव छ ।

किताव नभएर बालबालिका आत्तिएकाले पाठ्यक्रमका आधारमा उनीहरुलाई विद्यालयमा रुचि लाग्ने खालका क्रियाकलापमा ब्यस्त राख्नुपर्ने अभिभावक झरना विक बताउँछन् ।

पुस्तक कहिले विद्यालयसम्म आउने हो अझै यकिन छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमा उपलब्ध नभए पनि पाठ्यक्रमका आधारमा विभिन्न क्रियाकलापमा व्यस्त बनाई राख्नुपर्छ ।’

प्रतिक्रिया